कार्कीले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको करिब ५० सेकेन्ड लामो भिडिओमा अमिशासँग सम्बन्धित भनी प्रस्तुत गरिएको व्यक्तिले उनलाई गाली गरेको, आर्थिक सहयोग नदिने चेतावनी दिएको र प्रहरीद्वारा भएको कुटपिटलाई उचित ठहर गरेको दाबी गरिएको थियो। तर टेकपाना ले गरेको तथ्य जाँचबाट भिडिओमा देखाइएको व्यक्ति अमिशासँग सम्बन्धित नभएको र सामग्री पूर्ण रूपमा भ्रामक रहेको पुष्टि भएको छ। तथ्य सार्वजनिक भएपछि कार्कीले उक्त भिडिओ आफ्नो फेसबुकबाट हटाएका छन्।
अमिशाको परिवारले यस्तो झुटो सामग्रीले उनकी छोरीमाथि चरित्रहत्या भएको र साइबर बुलिङ बढेको गुनासो गरेको छ। उनकी आमा बिनिता पराजुलीका अनुसार, यस घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइनेछ। उनले लोकतान्त्रिक अधिकार प्रयोग गरेर आफ्ना विचार व्यक्त गरेकै कारण अमिशा बारम्बार निशाना बनाइएको आरोप लगाएकी छन्।
यसअघि पनि अमिशाले सामाजिक सञ्जालमा आफ्नो चरित्रमाथि आघात पुर्याउने सामग्रीविरुद्ध साइबर ब्युरोमा उजुरी दिइसकेको जनाइएको छ। पछिल्लो घटनाले सामाजिक सञ्जालमा तथ्यहीन सामग्रीको प्रभाव, यसको दुरुपयोग, र जिम्मेवारीबारे पुनः गम्भीर प्रश्न उठाएको छ।

