काठमाडौं । प्रसिद्ध भारतीय शास्त्रीय गायक पण्डित प्रभाकर कारेकरको बुधबार राति ८० वर्षको उमेरमा मुम्बईको शिवाजी पार्कस्थित आफ्नै निवासमा निधन भएको छ। उनी केही समयदेखि अस्वस्थ थिए।
सन् १९४४ मा गोवामा जन्मिएका कारेकरले पण्डित सुरेश हल्दङ्कर, पण्डित जितेन्द्र अभिषेकी र पण्डित सीआर व्यासबाट शास्त्रीय संगीत सिकेका थिए। उनी बोलाव विठ्ठल, पहाव विठ्ठल र वक्रतुण्ड महाकायजस्ता रचनाहरूका लागि परिचित थिए।
तानसेन सम्मान, संगीत नाटक अकादमी पुरस्कार र गोमन्त विभूषण पुरस्कार प्राप्त कारेकरले फ्युजन संगीतमा पनि हात हालेका थिए। अल इन्डिया रेडियोका चर्चित कलाकार रहेका उनले अमेरिका, बेलायत, अष्ट्रेलिया, इटालीलगायतका देशहरूमा आफ्नो संगीत प्रस्तुत गरेका थिए।
उनको अन्तिम संस्कार आज साँझ ५ बजे दादरस्थित श्मशान गृहमा गरिनेछ।
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार

