२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

ह्वाइट हाउसमा जेलेन्स्कीलाई प्रश्नः सुट कहिले लगाउनुहुन्छ ? कि छैन ?

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की प्रायः अनौपचारिक पहिरनमा भेटिन्छन् । अमेरिकी राष्ट्रपति कार्यालयमा तिखो बहस सुरु हुनु ठीक अघि जेलेन्स्कीलाई एक पत्रकारले उनको पहिरन बारे नै सोधे ।

धेरै मानिसको जस्तै ती पत्रकारको पनि जिज्ञासा थियो कि जेलेन्स्की किन सधै सैनिक पोशाक अर्थात् कम्ब्याट गियर मात्रै लगाउँछन् ? कपडाको सन्दर्भलाई उठाउने पत्रकार हुन् दक्षिणपन्थी मिडिया नेटवर्क ‘रियल अमेरिकन भ्वाइस’ का ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेनले यस्तो प्रश्न सोधेका हुन् ।

बीबीसीका अनुसार उनले सोधे, ‘तपाईं सुट किन लगाउनुहुन्न ? के तपाईंसँग सुट छैन ? धेरै अमेरिकीहरू तपाईंले राष्ट्रपति कार्यालयको गरिमाको सम्मान गरिरहनुभएको छैन भन्ने गुनासो गर्छन् ।’

जवाफमा जेलेन्स्कीले भने, ‘म यस्ता कपडा युद्ध सकिएपछि मात्र लगाउनेछु। सायद तपाईंजस्तै केही, सायद अझ राम्रो, वा सायद केही सस्तो कपडा। जेलेन्स्की प्रायः युक्रेनी प्रतीक भएको स्वेटर लगाउँछन्। उनी संसारका प्रमुख नेताहरूसँगको बैठकहरूमा पनि यही पोशाकमा देखिन्छन्।

शुक्रबार ह्वाइट हाउसमा भएको वार्तामा ट्रम्प र जेलेन्स्कीबीच तिखो बहस भएको थियो । यद्यपि यसअघि नै दुवै नेताबीचको सम्बन्ध निकै खराब भइसकेको थियो। ट्रम्पले पहिल्यै जेलेन्स्कीलाई एक तानाशाह भनेका थिए र युक्रेनले नै रूस–युक्रेन युद्ध सुरु गरेको दाबी गरेका थिए ।

अब ह्वाइट हाउसमा भएको सार्वजनिक घटनाले नेटोका युरोपेली राष्ट्रहरू र अमेरिकाबीच ठूलो संकटको सङ्केत गरिरहेको विश्लेषण हुन थालेको छ । यो घटनाले सन् १९४९ मा अमेरिका र नेटो सहयोगी राष्ट्रहरूबीचको पारस्परिक रक्षा प्रतिबद्धतामाथि पनि प्रश्न उठेको छ । नेटो सहयोगी राष्ट्रमाथि हुने कुनै पनि आक्रमणलाई तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले अमेरिकामाथि आक्रमणसरह मान्ने वाचा गरेका थिए ।’

 

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस