१८ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ ।
प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२र११ केभी क्षमताका ६ वटा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । प्राधिकरणका अनुसार काठमाडौँको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ ।
यस्तै, फुटुङ र मूलपानी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । दुवै सबस्टेशन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । भक्तपुरको चाँगुनारायण सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेशनलाई सञ्चालनमा ल्याउन मात्र बाँकी छ । चोभार सबस्टेशन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेशन आगामी आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।
ती सबस्टेशनको क्षमता ९०–९० एमभिए छ । सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा थप करिब पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौँ उपत्यकाको विद्युत् माग पाँच सय मेगावाटको हाराहारीमा छ ।

