काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन साहको विरोध गरेकी छन्। उनले प्रमुख साहप्रति असन्तुष्टि जनाउँदै महानगरको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन्।
शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै डंगोलले प्रमुख साहले छानबिन प्रतिवेदन सार्वजनिक गर्नुको साटो सामाजिक सञ्जालमार्फत व्यक्तिगत आरोप लगाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
‘छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको र केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने कुरा ठिक होइन,’ उनले भनिन्। डंगोलले छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको भन्दै त्यसमा आशङ्का उत्पन्न भएको पनि जनाइन्।
उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृतको कमजोरी देखिएमा तुरुन्तै कारबाही गर्नुपर्ने र यदि अन्य व्यक्तिहरूको संलग्नता भएमा त्यस्को पनि निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखिन्।
महानगरपालिकाले २०८१ साल पुस १४ गते शेखर प्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। पौडेलको राजीनामापछि शंकर पाण्डेको संयोजकत्वमा अर्को समिति गठन गरियो, जसले एक महिनामा प्रतिवेदन पेस गर्नुपर्ने थियो। तर, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

