२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा झापाका अग्नि खरेल नियुक्त

Agni Kharel, Prime Minister Oli's Expert Advisor

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरिएको छ,’ एक मन्त्रीले पुष्टि गरे । खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता, तथा कानून मन्त्री पनि थिए । झापाको गौरादह स्थायी घर भएका खरेल त्यतिबेला प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानूनमन्त्री थिए । उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् । खरेलले ०४७ सालको संविधान निर्माणमा माधव कुमार नेपालको कानूनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए । नेपाल बार एशोसियसनका पूर्वमहासचिव समेत रहेका खरेलको बार काउन्सिलमा कानून व्यवसायी लाइसेन्स नम्बर १४९४ रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस