२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

आइएमई ग्रुपको कागज उद्योग प्रधानमन्त्री ओलीद्वारा उद्घाटन, नयाँ उद्योगले आयात प्रतिस्थापन गर्ने

२२ फागुन , काठमाडौँ । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे । २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए ।

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे ।

उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस