२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य हुनु आवश्यक : राष्ट्रपति

२४ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस गरेको उल्लेख गरेका छन् ।

परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिएको राष्ट्रपतिको भनाइ छ ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुँदा यसतर्फ विशेष ध्यान दिन जरूरी देखिएको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस