२४ फागुन , काठमाण्डौँ । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका आधारमा नेपालबाट विशेष गरी खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो परिचालन गरे पनि तस्करी नियन्त्रणमा पूर्ण रूपमा सफलता हासिल गर्न नसकेको बताएको छ ।
दैनिक २५० बढी नेपाली महिलाको तस्करी
विमानस्थलबाट भिजिट भिसाको सहारामा विशेष गरी दुबई, कुवेत, ओमन, कतार, साउदी अरब, बहराइन, सिरिया, इराक लगायतका खाडी मुलुकमा नेपाली महिलाहरूको अवैध रूपमा तस्करी भइरहेको छ । प्रहरीका अनुसार दुबईमा मात्र दैनिक २५० जना नेपाली महिलाहरू भिजिट भिसामा गएको देखिन्छ, जसमा ठूलो संख्यामा तस्करीका सिकार भएका छन् ।
दुबई सरकारले भिजिट भिसामा कडाइ गरेपछि तस्करहरू ओमनलाई ‘ट्रान्जिट प्वाइंट’ का रूपमा प्रयोग गर्न थालेका छन् । नेपालका विभिन्न ट्राभल एजेन्सीहरूको संलग्नतामा महिला तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। विभिन्न एयरलाइन्स मार्फत मानव तस्करी व्यापक रूपमा भइरहेको पाइएको छ।

