२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

आज यात्राअघि जान्नुहोस् पूर्वराजाका समर्थकको जुलुस कहाँ-कहाँबाट सुरु हुँदैछ

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किँदैछन् र राजावादीहरूले उनकाे स्वागतका लागि धूमधाम तयारि गरेका छन्। राप्रपा, राप्रपा नेपाल लगायतका राजनीतिक दल र संघसंस्थाले काठमाडौँका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन्।

पोखरामा एक हप्ता बिताएपछि शाह आज दिउँसो हवाईमार्गबाट काठमाडौँको विमानस्थलमा ओर्लनेछन्। उनका समर्थकहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्नेछन्। विमानस्थलबाट शाह महाराजगञ्जस्थित निर्मल निवास जानेछन्, जहाँ राजावादी कार्यकर्ताहरू र्‍यालीसहित उनलाई पुर्‍याउनेछन्।

राप्रपा र राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरूलाई विभिन्न जिल्लाबाट उतारेका छन्। उनीहरूले राष्ट्रिय झण्डा, फूलमाला र शाहको तस्वीरसहितका ब्यानर र पम्प्लेटसहित उपस्थित हुने तयारी गरेका छन्।

अन्य समूहहरूले पनि स्वागतको तयारीमा छन्, जसमा शिव सेना नेपाल, दुर्गा प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल लगायतका संगठनहरू पनि समावेश छन्।

सांसद ज्ञानेन्द्र शाहीका अनुसार, विभिन्न स्थानबाट र्‍याली विमानस्थलतर्फ आउनेछन् र त्यहाँबाट शाहलाई निर्मल निवाससम्म पुर्‍याइनेछ।

सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ, ताकि भिड अनियन्त्रित नहोस् र कुनै अवाञ्छित क्रियाकलाप रोक्न सकियोस्।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस