२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ज्ञानेन्द्र शाहको स्वागतमा को–को उत्रिँदै, कहाँ–कहाँबाट निस्किँदैछ र्‍याली ?

२५ फागुन, काठमाडौँ । पोखराको बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँ फर्किदै छन् । राजावादी शाक्तिहरु आज जुलुससहित पूर्व राजाको स्वागतको तयारीमा छन् । राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारीमा छन्।

पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् ।राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुट नै तय गरेर जुलुससहित काठमाडौँ एयरपोर्टसम्म पुग्ने तयारी गरेको छ ।

पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले तीनकुने र गौशालामा जम्मा भएर जुलुससहित विमानस्थल पुग्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् । काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर,  ललितपुरबाट र काठमाडौँ (कागेश्वरी मनोहरा पेप्सीकोला कीर्तिपुर नगरपालिका चन्दागिरी दक्षिणकाली नागार्जुन) बाट आउनेहरूलाई तीनकुनेमा भेला हुने आग्रह गरिएको उनले जानकारी दिए ।

त्यसैगरी नुवाकोट, धादिङ र काठमाडौँको टोखा ,गोकर्णेश्वर र तारकेश्वरबाट आउनेहरूलाई गौशालामा जम्मा हुन भनिएको छ । जोसँग जुन सवारी साधन छ त्यही प्रयोग गरेर तीनकुने र गौशला पुग्न पार्टीले आग्रह गरेको छ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान, राप्रपा नेपाललगायतले पनि आफ्ना कार्यकर्तालाई स्वागतको लागि विमानस्थल पुग्न आग्रह गरेका छन् । राजावादीहरुले जुलुससहित पूर्वराजाको स्वागत गर्ने तयारी गरेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस