काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न राप्रपा र दुर्गा प्रसाईको माातृभूमि बचाऊ अभियानसहितको संगठित र्यालीमा भारतका भावी प्रधानमन्त्रीको रुपमा चिनिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत ब्यानर प्रदर्शन भएको छ ।
सामाजिक संजालमा भाइरल भइरहेको फोटोमा मोटरसाइकल र्यालीका एक सहभागीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा बिजेपी नेता योगी आदित्यनाथको फोटो बोकेका छन् भने अर्कोले पूर्व राजा ज्ञानेन्द्रको । यो तस्विर प्रदिपविक्रम राणा भन्ने व्यक्तिले हिन्दु राज्य स्थापनाको ब्यानरसहित प्रायोजन गरेका हुन् । सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागीले योगीको तस्विरसहित प्रदर्शन गरेका थिए ।
योगीले नेपाल हिन्दु राज्य हुनुपर्छ भनेकाले उनको समर्थनमा उक्त ब्यानर प्रदर्शन गरिएको सहभागीले बताए । उक्त ब्यानरमा नामै राखेर प्रायोजन गर्ने प्रदिप विक्रम राणा कुनै बेला राप्रपाका नेता थिए । २०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
आफूलाई हिन्दूवादी भनेर चिनाउने राणा अहिले राप्रपा र राप्रपा नेपाल दुवै पार्टीमा नरहेको दावी ती पार्टीका नेताले गरेका छन् । राजावादीका फरक–फरक झुण्ड भएकाले आजको प्रदर्शनमा भएका गलत हर्कतको जिम्मा लिने कोही नभएको नेताहरुले बताएका छन् । यो घुसपैठ मात्र भएको उनीहरुको दाबी छ ।

