काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका १५ अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्। बिहीबार राति अनुगमनका क्रममा उनले दर्ताबिनै सञ्चालन भएका अस्पताल तथा पोलिक्लिनिकहरू कानुनी प्रक्रिया पूरा नगरेसम्म बन्द गर्न आदेश दिएका हुन्।
मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पताल मलङ्गवासहित १८ निजी अस्पतालको निरीक्षण गरेका थिए। उनले सरकारी अस्पतालमा स्वास्थ्य सेवा सुधार गर्न आकस्मिक कक्षमा जनशक्ति व्यवस्थापन, खानाको स्वच्छता कायम गर्ने व्यवस्था मिलाउन निर्देशन दिए।
अनुगमनको जानकारी पाएलगत्तै अधिकांश निजी अस्पताल बन्द गरिएको जनाइएको छ। मुख्यमन्त्री सिंहले म्याक्स अस्पताल, मिथिला डेनटल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर, कल्याण हेल्थ केयरलगायतका अस्पताल बन्द गर्न आदेश दिएका छन्। दर्ता भएर पनि नवीकरण नभएका अस्पताललाई दुई महिनाभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।
सरकारी तथा निजी अस्पतालमा लापरबाही देखिएको भन्दै मुख्यमन्त्री सिंहले प्रदेशभर स्वास्थ्य संस्थाको अनुगमन अभियान जारी राख्ने बताएका छन्।

