काठमाडौं । झापाको कनकाई नगरपालिकामा एक युवकले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। सुनसरी इनरुवा-९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले बिहीबार दिउँसो १२:२५ बजे कनकाई सामुदायिक वन नजिक आत्मदाह गर्न खोजेका हुन्।
स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनलाई उद्धार गरी बीएण्डसी अस्पताल बिर्तामोड लगियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको छ।
चौधरी पछिल्ला केही दिनदेखि बिर्तामोड-४ स्थित सोफा हाउसमा काम गर्दै आएका थिए। घटनाका बेला उनी प्रेमिकासँग सडकमा हिँड्दै गर्दा विवाद भएको थियो। विवादकै क्रममा उनले प्रेमिका र आफूलाई पेट्रोल छर्केका थिए। प्रेमिका भाग्न सफल भएकी थिइन् भने चौधरीले शरीरमा आगो लगाएका थिए।
प्रहरीका अनुसार घाइते चौधरीको शरीरको ६० प्रतिशत भाग जलेको छ। घटनापछि ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार

