काठमाडौं । नासा र स्पेसएक्सले अन्तरिक्षमा फसेका अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई पृथ्वीमा फर्काउन क्रू-१० मिशन सुरु गरेका छन्। यस अभियान अन्तर्गत फाल्कन ९ रकेटमा रहेको क्रू ड्र्यागन अन्तरिक्ष यान नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको छ।
सुनिता विलियम्स र बुच विल्मोर गत वर्ष जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमार्फत परीक्षण मिशनका लागि अन्तरिक्ष गएका थिए। उनीहरू आठ दिनपछि पृथ्वी फर्कने तयारीमा थिए, तर अन्तरिक्ष यानमा देखिएको प्राविधिक समस्याका कारण उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फस्न पुगे। थ्रस्टरमा खराबी आएपछि पटकपटक प्रयास गरिए पनि समस्या समाधान हुन सकेन, जसका कारण उनीहरू नौ महिनासम्म अन्तरिक्षमा बस्न बाध्य भए।
स्पेसएक्सले उनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउन नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको हो। नयाँ टोली अन्तरिक्ष स्टेशन पुगेको दुई दिनपछि, विलियम्स र विल्मोर पृथ्वी फर्कनेछन्। नासाका कमर्शियल क्रू प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिशन सफल हुनेमा विश्वास व्यक्त गर्दै भने, “बुच र सन्नी (सुनीता) ले राम्रो काम गरेका छन्, र हामी तिनीहरूलाई फिर्ता ल्याउन तत्पर छौं।”
SpaceX को मानव अन्तरिक्ष यातायात प्रणाली अन्तर्गत क्रू-१० मिशन नासाको कमर्शियल क्रू कार्यक्रममार्फत अन्तरिक्षमा पठाइएको ११ औं मानव मिशन हो। यस अभियानको सफलता अन्तरिक्ष यातायातमा देखिएको समस्या समाधान गर्न महत्वपूर्ण मानिन्छ।

