२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

दुईपटक हवाई टिकट रद्द भएपछि इराकमै अस्ताइन् सुमिना

२ चैत्र, काठमाडौँ । गैरकानुनी बाटो हुँदै इराक पुगेकी सिन्धुपाल्चोक घर भएकी सुमिना तामाङको मृत्यु भएको छ । २ वर्षअघि रोजगारीका लागि इराक पुगेकी सुमिना एउटा घरमा काम गर्दागर्दै भुइँमा ढलेकी थिइन् । त्यसपछि उनलाई तत्काल अस्पताल लागिएको थियो ।

उनी बिरामी भएको खबर पाएको दिनदेखि नै गैरआवासीय नेपाली संघ एनआरएनए इराक अध्यक्ष विनोद श्रेष्ठले नेपाल पठाउन प्रयास गरे तर सफल भएनन् । श्रेष्ठका अनुसार उनलाई नेपाल पठाउन नसक्नुको मुख्य कारण रोग र शारीरिक अवस्था थियो । सोही कारण एयरलाइन्सले दुई पटकसम्म स्वीकृत नै नगरेपछि हवाई टिकट रद्द भयो । तेस्रोपटक बुधबार मात्र सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल पठाउन मिल्ने अवस्थामा इराक हेर्ने जिम्मेवारी पाएको कुवेतस्थित नेपाली दूतावासलाई पनि जानकारी भयो तर कुर्दिस्तानस्थित दुहोक सहरमा सुमिनाको मृत्यु हुन पुग्यो ।

नेपाल सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा बिचौलियालाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न संगठनले जनाउँदै आएका छन् । बिचौलियाले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायत मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करलाई फाइदा हुने गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस