२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ट्रम्पको कडा कदम: ग्रीनकार्डधारी र विद्यार्थीलाई देशनिकाला, उपराष्ट्रपतिको बयानले तहल्का!

काठमाडौं। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनकार्डधारीहरूको बसाइ सम्बन्धी अधिकारबारे एक विवादास्पद बयान दिएका छन्। फक्स न्यूजलाई मार्च १३ मा दिएको अन्तर्वार्तामा उनले ग्रीन कार्ड भएको व्यक्तिलाई अमेरिकामा सधैंभरि बस्ने असीमित अधिकार नदिने बताए। भान्सले भने, ‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैंभरि बस्ने अधिकार मिल्छ भन्ने होइन।’

उनले यो विषय राष्ट्रिय सुरक्षासँग जोडिएको बताउँदै थपे, ‘यो मूल रूपमा स्वतन्त्र अभिव्यक्तिको कुरा होइन। हो, राष्ट्रिय सुरक्षा महत्त्वपूर्ण छ, तर सबैभन्दा ठूलो कुरा हामी अमेरिकी जनताले कसलाई हाम्रो राष्ट्रिय समुदायमा सामेल गर्ने भनेर निर्णय गर्छौं।’

उनले यदि अमेरिकी राष्ट्रपति वा विदेशमन्त्रीले कसैलाई देशमा राख्नु उपयुक्त नभएको ठहर गरेमा, ‘त्यस्ता व्यक्तिको यहाँ (अमेरिका) बस्ने कुनै कानुनी अधिकार हुँदैन, यो एकदमै सरल छ,’ भनेर जोड दिए। यो बयान कोलम्बिया विश्वविद्यालयका स्नातक छात्र महमूद खलिलको ग्रीन कार्ड खारेजीको घटनासँग जोडिएको छ।

खलिलमाथि हमासको समर्थनमा प्रचार गरेको आरोप लागेको थियो। भान्सले विद्यार्थी भिसामा रहेका व्यक्तिहरूलाई पनि अमेरिकाको हितविपरीत देखिएमा निष्कासन गर्न सकिने संकेत गरे। उनले भने, ‘यदि हामीले अमेरिकाको हितमा नभएको ठहर गर्‍यौं भने केही व्यक्तिहरू विद्यार्थी भिसामा पनि निष्कासित हुने छन्।’

ग्रीन कार्डलाई अमेरिकामा स्थायी बासिन्दा कार्डको रूपमा चिनिन्छ, जसले व्यक्तिलाई त्यहाँ बस्न र काम गर्न अनुमति दिन्छ। तर, यो स्थिति अपराध वा राष्ट्रिय सुरक्षा खतराको अवस्थामा खारेज हुन सक्छ। भान्सको यो टिप्पणीले ग्रीनकार्डधारीहरूको अधिकारमाथि नयाँ बहस सुरु गरेको छ। एजेन्सी

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस