बाजुरा । बाजुराको जगनाथ गाउँपालिकामा परम्पराको नाममा गाईलाई कुटपिट गरी जबरजस्ती नदीमा डुबाइएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ।
भिडियोमा देखिएअनुसार, कर्णाली नदी किनारमा भेला भएका मानिसहरूले कालो रङको गाईलाई लखेट्दै ढुंगामुडा हानेर नदीमा धकेल्ने प्रयास गर्छन्। गाई बच्न खोज्दा झनै कुटपिट गरिन्छ, र अन्ततः बगेर मर्छ।
स्थानीय पत्रकार धनबहादुर बीसीका अनुसार उक्त घटना बाजुराको जगनाथ गाउँपालिका–६ काप्रेको हो। स्थानीय साउने सार्कीको मृत्यु भएपछि मलामी गएका व्यक्तिहरूले यो कृत्य गरेका हुन्।
स्थानीयवासीको अन्धविश्वास
स्थानीयहरूले मृत व्यक्तिको आत्माले मुक्ति पाउने भन्दै गौदानको नाममा गाईलाई जबरजस्ती नदीमा डुबाउने गरेको बीसी बताउँछन्। वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार, परम्परागत रूपमा यस्तो क्रियाकलाप हुँदै आएको छ, तर रोक्न खोज्दा उल्टै स्थानीय आक्रोशित हुने गरेका छन्।
अधिकार र प्रशासनको प्रतिक्रिया
जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले घटनाबारे जानकारी नभएको बताए। जिल्ला प्रशासन कार्यालयका प्रमुख मेघनाथ पाध्यले भने यस्ता कुप्रथा रोक्न जनचेतना अभियान चलाइरहेको बताए।
गाईलाई यसरी मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। धेरैले यसलाई परम्परा होइन, अमानवीय अन्धविश्वास र अपराधको संज्ञा दिएका छन्।

