२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

ओली सरकार परिवर्तनको चर्चा : एमाले र कांग्रेसको आ-आफ्नै तर्क

Kp Sharma Oli with Sher Bahadur deuba

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको सरकार राष्ट्रिय सहमतिको आधारमा बनेको हुँदा परिवर्तनको कुनै सम्भावना नरहेको बताए। उनले सरकार सहज रूपमा अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने दाबी गरे। साथै, आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने लक्ष्यसहित तयारी गरिरहेको उल्लेख गरे।

त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको बताए। उनले मुलुकको स्थायित्वका लागि सरकार गठन भएकाले यसलाई तोड्ने कुनै योजना नरहेको स्पष्ट पारे। साथै, घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रूपमा आउन सम्भव नभएको उल्लेख गर्दै सबैलाई स्वीकार्य हुने गरी कानुनी प्रक्रियाबाट अगाडि बढाइने जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस