७ चैत्र , काठमाडौँ। नेपाली श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन यही चैत १० गतेबाट कोसी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ ।
महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिए । महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रेस चौतारी नेपाल महाधिवेशनको अन्तिम तयारीमा जुटको छ ।
महाधिवेशनको लागि सांगठनिक तथा राजनीतिक प्रतिवेदन तयारको काम अन्तिम चरणमा पुगेको महासचिव लामाले जानकारी दिए । उता विराटनगरमा कार्यक्रमको तयारीमा संगठनका सचिव विक्रम लुइँटेलको नेतृत्वमा टोली खटिरहेको छ । अतिथिहरूको सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको व्यवस्थापनमा टोली खटेको छ ।
कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखिकै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको लुइँटेलले जानकारी दिए ।

