काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण लिएर विदेश जाने र तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्थालाई उचित नभएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा बोल्दै उनले खेतीयोग्य जमिन बाँझो छाडेर ठूलो संख्यामा युवा विदेशिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे। चेतनाको कमीका कारण यस्तो प्रवृत्ति बढेको बताउँदै उनले युवाहरूलाई उद्यमशील बनाउन सरकारले स्टार्टअप ऋण सहायता कार्यक्रम ल्याएको जानकारी दिए।
प्रधानमन्त्री ओलीका अनुसार, यो वर्ष कम्तीमा ५०० उद्यमीलाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिनेछ। स्टार्टअपमा आधारित उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्न लगानीकर्तालाई आकर्षित गर्ने योजना अन्तिम चरणमा पुगेको उनले बताए।
विदेश जाने विषयलाई पूर्ण रूपमा नकारात्मक रुपमा नबुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले व्यवसाय, रोजगारी र अध्ययनका लागि विकसित मुलुकका नागरिकहरू पनि विदेश जाने विश्वव्यापी प्रवृत्ति रहेको उल्लेख गरे। स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले औद्योगिक लगानीका लागि कानूनी सुधार, व्यवसायमैत्री नीति, विदेशी लगानी प्रोत्साहन, उत्पादन वृद्धिलगायत उपायहरू अघि सारेको उनको भनाइ छ।

