२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

राजावादीलाई एमालेको काउन्टर: देशव्यापी जनप्रदर्शनसहितका कार्यक्रम घोषणा

काठमाडौं । नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत निर्माण गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ। मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्न चैत ११ गते देशभरका सबै वडामा एकैसाथ सचेतना कार्यक्रम गरिने छ।

एमालेले हाल सञ्चालन गरिरहेको तीनमहिने वडाकेन्द्रित अभियानलाई निरन्तरता दिँदै चैत ११ देखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा जनसचेतना तथा जनपरिचालन कार्यक्रम गर्ने जनाएको छ। चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली तथा जिल्लास्तरीय जागरण सभा आयोजना गरिनेछ।

चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गरिनेछ। धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइनेछ।

एमाले महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीलाई कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिँदै जनचेतना अभियान तथ्यमा आधारित हुनुपर्ने बताएका छन्। एमालेले नागरिक समाज र विभिन्न क्षेत्रका व्यक्तिहरूसँग अन्तरसंवाद गर्ने कार्यक्रमसमेत राखेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस