चैत्र ८, काठमाण्डौँ । चन्द्रागिरि हिल्सले पैदलयात्रीबाट प्रतिव्यक्ति उठाइएको १ सय रुपैयाँले पैदलयात्रीलाई नै लाभ मिलेको बताएको छ । चन्द्रागिरीमा केबलकार बन्नुअघि नै चन्द्रागिरी नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाका स्थानीयबाहेकलाई यो शुल्क उठाउने प्रबन्ध गरिएको कम्पनीले स्पष्ट पारेको छ ।
‘चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट १ सय रुपैयाँसेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो,’ चन्द्रागिरी हिल्सले भनेको छ, ‘सोको जानकारी चेकपोस्टस्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको छ ।’ उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै चन्द्रागिरी पुग्ने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको कम्पनीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

