२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

हक, अधिकार कार्यान्वयनका लागि कांग्रेस प्रतिवद्ध छ : सभापति देउवा

८ चैत्र , काठमाण्डौँ ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विभिन्न समुदायका हक, अधिकारका विषयलाई कार्यान्वयन गराउन कांग्रेस प्रतिवद्धत रहेको बताएका छन्।

शुक्रबार पार्टी कार्यालय सानेपामा राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले अपांगता भएको व्यक्ति लगाएत समुदायका हक, अधिकारलाई थप सुनिश्चित गर्न कांग्रेस प्रतिवद्ध रहेको बताए।

लोकतन्त्रले मात्र सबै वर्ग, क्षेत्र, लिंग, वर्ण वा समुदायको हकहितको रक्षा गर्दछ भन्ने कुरा नेपालको आफ्नै अनुभवले प्रष्ट भएको उनले बताए। सभापति देउवाले २०४६ सालमा प्रजातन्त्र पुनर्थापना भएपछि मात्र अन्य क्षेत्रले झै अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न पनि नेपालमा ठोस कदम चालिएको धारणा राखे।

उनले नेपालको वर्तमान संविधान अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहज र सुलभ जीवनयापनको पक्षमा उभिएको र अपांगता भएका व्यक्तिको मानव अधिकारप्रतिसमेत संवेदनशील रहेको उल्लेख गरे। सरकारले चाहेर पनि अपांगता भएका व्यक्तिलाई पर्‍याप्त सेवा सुविधा दिन नसकिरहेको तर्फ सचेत रहेको भन्दै सभापति देउवाले मुलुकको आर्थिक विकाससँगै यस क्षेत्रको सेवा, सुविधा र रोजगारी अभिवृद्धिमा प्राथमिकता दिन दृढ रहेको बताए।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस