८ चैत्र, गोरखा । सहिद लखन गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षामा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । पालिकास्तरीय कक्षा ८ को परीक्षामा ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीलाई १० हजार नगदसहित सम्मान गर्ने गाउँपालिकाले जनाएको छ ।
२०८१ को वार्षिक परीक्षामा ३.६० जीपीएभन्दा माथि नतिजा हासिल गर्ने ८, १० र १२ कक्षाका विद्यार्थीलाई नगदसहित सम्मान गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । ३.९० देखि ३.९९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई ४० हजार र कक्षा ८ का विद्यार्थीलाई ८ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिने उनले बताए ।
३.८० देखि ३.८९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई ३० हजार र कक्षा ८ का परिक्षार्थीलाई ६ हजार, ३.७० देखि ३.७९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ कालाई २० हजार र कक्षा ८ कालाई ४ हजार पुरस्कार दिइने छ । त्यस्तै ३.६० देखि ३.६९ जीपीए प्राप्त गर्ने एसईई र कक्षा १२ का परीक्षार्थीलाई १० हजार र कक्षा ८ कालाई २ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

