२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

साउन १ देखि लागू हुनेगरी न्यूनतम पारिश्रमिक वृद्धि, अहिले कति छ?

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले २०८२ साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने तयारी थालेको छ। शुक्रबार पत्रकार सम्मेलनमा विभागले पारिश्रमिक निर्धारण समितिले नयाँ पारिश्रमिक निर्धारणको काम अघि बढाएको जानकारी गराएको हो।

महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार अघिल्लो पटक बढाइएको पारिश्रमिक कतिपय प्रतिष्ठानमा लागू नभएकाले कार्यान्वयनमा कडाइ गरिनेछ। हाल मासिक न्यूनतम पारिश्रमिक १७,३०० रुपैयाँ रहेको छ, जसमा आधारभूत पारिश्रमिक १०,८२० रुपैयाँ र महँगी भत्ता ६,४८० रुपैयाँ छ।

भट्टराईले श्रमिकको अधिकार सुनिश्चित गर्न प्रतिष्ठानलाई मर्यादित श्रम अभ्यास अपनाउन आग्रह गर्दै विभागले श्रमसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिको अनुमोदनका लागि पूर्वतयारी गरिरहेको बताए।

दर्ता भएका रोजगारदाता प्रतिष्ठानहरूले ऐनविपरीत सञ्चालन गर्न नपाउने र उल्लंघन गर्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ। स्रोतसाधन सीमित भएकाले अपेक्षित सुधार गर्न कठिन भए पनि विभागले आन्तरिक रोजगारी प्रवर्द्धन र श्रम प्रशासन सुदृढीकरणमा काम अघि बढाइरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस