काठमाडौँ। नेपाल प्रहरीले जानकारी दिएको छ कि देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-५ मणिग्रामस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२ ख ५१३६ नम्बरको ट्रकले लु.१६ प ६८५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २८ वर्षीय रमेश खनालको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका-१९ आलानगरस्थित सडकमा कन्ठिपुरदेखि आलानगरतर्फ जाँदै गरेको भे.१२ प ९८०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३८ वर्षीय मोहन लाल कामीको मृत्यु भएको छ।
दाङ, घोराही उपमहानगरपालिका-१६ गुर्जेखोला पुलस्थित सडकमा दुई मोटरसाइकलको ठक्कर हुँदा २२ वर्षीय बिबेक सुबेदीको मृत्यु भएको छ।
सिराहा, लहान नगरपालिका-१२ भोटिया चोकमा एक मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय बिबेक साहको मृत्यु भएको छ।
सुनसरी, दुहवी नगरपालिका-७ फर्साइस्थित सडकमा अनियन्त्रित भएको ट्याक्टर दुर्घटनामा ६० वर्षीया देउ कुमारी खाँको मृत्यु भएको छ।
जाजरकोट, कुसे गाउँपालिका-५ दम्दलास्थित सडकमा ट्याक्टरको ठक्करबाट १५ वर्षीय सन्तोष सिहको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीले सबै दुर्घटनाका घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ।

