काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समता मूलक समाज निर्माणमा नेपाल सरकारको तदारुकता आवश्यक रहेको बताएका छन्। आइतबार शीतल निवासमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिको उद्देश्य प्राप्तिका लागि यी तत्वहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।
उनले मुलुकको स्रोत साधन परिचालन गर्दै संवैधानिक व्यवस्थाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै, सरकारलाई संविधानको मर्म र भावना बमोजिम कार्यान्वयन गर्न थप सक्रिय र क्रियाशील बन्ने अपेक्षा व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने आर्थिक अवस्थामा देखिएको असहज परिस्थितिको दबाव कम गर्न सरकारले प्रयास गरेको र केही उपलब्धि हासिल भएको उल्लेख गरे। उनले विद्यार्थीहरूलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने, किसानलाई मल उपलब्ध गराउने, नागरिक एपमार्फत सेवा पुर्याउने जस्ता पहलहरूको पनि चर्चा गरे।

