२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

बाँकेमा भयानक दुर्घटना : ट्यांकरले ठक्कर दिँदा दुई बालकको घट्नास्थलमै मृत्यु !

१० चैत्र, काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ ।आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मेडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृत्यु हुनेमा नौ वर्षीय शिब कुमार गोडिया र आठ वर्षीय विशाल गोडिया रहेका छन् । घटनापछि बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित भएका स्थानीयले ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन् ।

प्रहरीका अनुसार सो घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् भने ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखिएकोले बेतहनी चौकी आगजनी गरेका छन् । आगजनीबाट प्रहरीचौकीको केही भाग जलेको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि पनि स्थानीयले ढुंगा प्रहार गरेकका थिए। आक्रोशित स्थानीयलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र केही राउन्ड हवाई फायरसमेत गरेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चार जना प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामामा मृत्यु भएका दुवै बालकको शव अझै घट्नास्थलमै रहेको छ भने प्रदर्शन जारी छ ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस