काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई न्याय गरेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएपछि मंगलबार उनले सरकारले अधूरा योजनाहरू पूरा गर्ने अवसर दिएको बताए ।
शाक्यका अनुसार, साढे ३ वर्ष काम गर्ने अवसर नपाएका कारण योजना कार्यान्वयन प्रभावित भएको थियो । अब भने ती योजनाहरू पूरा गर्न आफू प्रतिबद्ध रहेको उनले बताए ।
उनले घरायसी उपभोक्तालाई लोडसेडिङ नहुने स्पष्ट पार्दै, उद्योगहरूमा भइरहेको लोडसेडिङ न्यूनीकरण गर्न पहल गर्ने बताए । ‘लोडसेडिङ बिजुली अभावकै कारण हुने हो । उद्योगमा लोडसेडिङ हटाउन म प्रयासरत छु,’ उनले भने ।
शाक्यले एक/डेढ महिनाभित्र औद्योगिक लोडसेडिङ घटाउन सकिने दाबी गरे । उनले ‘अबको प्राथमिकता लोडसेडिङ न्यूनीकरणमै रहने’ बताए ।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते मङ्गलवार

