२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

एउटा कर्मचारीलाई हटाउँदा छाती पिटीपिटी किन रोएका होलान् ? : प्रधानमन्त्री ओली

१३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको विषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गर्दै यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने बताएका हुन् ।

एकजनालाई हटाएर अर्को लाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जो भन्यो त्यही नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे । उनले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाए। उनले हल्का र उत्ताउलो नहुने विपक्षी दललाई सुझाव दिए ।

प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्न चेतावनी दिदै ओलीले विपक्षी दल चिसै पानीले नुहाउनुपर्ने अवस्थामा आउने तर्क गरे। त्यस्तै उहाले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट पारे । एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिए ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस