काठमाडौं। अमेरिकाको ‘यूएस कमिशन अन इन्टरनेशनल रिलिजियस फ्रिडम’ (यूएससीआईआरएफ)ले सन् २०२५ को वार्षिक प्रतिवेदन जारी गरेको छ। उक्त प्रतिवेदनमा नेपालमा हिन्दू राष्ट्रको माग गर्दै गरिएको प्रदर्शन र धार्मिक स्वतन्त्रताको विषयबारे चर्चा गरिएको छ।
प्रतिवेदनको पृष्ठ ७७ मा नेपालबारे उल्लेख गर्दै हिन्दू राष्ट्रवादी भावनामा वृद्धि भइरहेको र हिन्दू राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शनहरू भइरहेको बताइएको छ। अप्रिलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा काठमाडौंमा भएको प्रदर्शन र त्यसक्रममा भएको प्रहरी झडपको पनि उल्लेख गरिएको छ।
यसैबीच, प्रतिवेदनमा नेपालमा इसाई समुदायमाथिको दमन बढेको उल्लेख गर्दै पादरी केशव आचार्यलाई धर्म परिवर्तन गराएको आरोपमा एक वर्षको कैद सजाय सुनाइएको घटनाको उल्लेख गरिएको छ। मार्चमा चार इसाईलाई जबरजस्ती धर्म परिवर्तन गराएको आरोपमा २४ दिन हिरासतमा राखिएको पनि प्रतिवेदनमा समावेश छ।

