काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेको विषय संसद्मा उठिरहेका बेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति विवरण कति छ भन्ने चर्चा फेरि सुरु भएको छ।
२०७४ मा प्रधानमन्त्री हुँदा ओलीले सम्पत्ति सार्वजनिक गरेका थिए। विवरणअनुसार, भक्तपुरको सूर्यविनायक–२ मा उनको १ रोपनी क्षेत्रफलमा तीनतले घर र आधा रोपनी क्षेत्रफलमा अर्को घर रहेको छ। बैंक खातामा मात्र सम्पत्ति देखाए पनि घरजग्गा, सेयर तथा अन्य सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा उल्लेख गरिएको छ।
शेरबहादुर देउवाले २०७४ मा सम्पत्ति सार्वजनिक गरे पनि बुढानीलकण्ठको सरकारी निवासबारे केही खुलाएनन्। उनले आफ्नो नाममा १० थान असर्फी, सुनका गहना र १६ लाख ५० हजार नगद बैंकमा रहेको देखाएका थिए। तर, पत्नी आरजु राणाको नाममा रहेका सम्पत्ति खुलाइएको थिएन।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रोपटक प्रधानमन्त्री हुँदा १ कट्ठा पैतृक जमिन मात्र देखाएका थिए। उनले सेयर तथा अन्य कुनै सम्पत्ति नरहेको बताएका थिए। तर, तेस्रोपटक प्रधानमन्त्री बनेपछि उनले सम्पत्ति विवरण सार्वजनिक गरेनन्।
नेपालमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा सुरु गरेको थियो। तर, पछिल्ला वर्षमा यसले निरन्तरता पाएको छैन। सांसदहरूले पारदर्शिताका लागि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन्।राजधानीबाट

