८ चैत्र, काठमाण्डौँ । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन् ।
जालपाकै अर्को माध्यमिक विद्यालय ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले गाउँकै जालपा मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन् । उक्त परीक्षा केन्द्रमा ज्योति माविका २२ जना नियमित र ग्रेडवृद्धिका पाँच जना विद्यार्थी छन् । शिक्षा विकास तथा समन्वय एकाई खोटाङको तथ्यांक अनुसार जालपा परीक्षा केन्द्रमा ज्योति माविका २५ जना विद्यार्थी र जालपा माविकै खुला तीन जना विद्यार्थी परीक्षामा उपस्थित भएका छन् ।
अघिल्लो वर्षसम्म जालपा मावि परीक्षा केन्द्रमा तीन वटा विद्यालयका विद्यार्थीले एसइई परीक्षा दिएका थिए ।

