काठमाडौँ । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २७, महाबौद्ध क्षेत्रबाट पक्राउ परेकी २६ वर्षीया महिला रिक्सी वाङ्मो चीनको तिब्बत स्थायी बासिन्दा हुन्। उनी भारतको जोगिन्दर नगरमा बस्दै आएकी थिइन्।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट २० लाख ९२ हजार रुपैयाँ नगद बरामद गरेको छ। बरामद रकममध्ये १ हजार दरका १,१८३ थान नोट, ५ सय दरका १,८१८ थान नोट रहेका छन्। साथै, प्रहरीले उनको साथबाट आइफोन कम्पनीको एक मोबाइलसमेत बरामद गरेको जनाएको छ।
हाल उनलाई नियन्त्रणमा राखेर काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २० गते बिहिवार

