२२ चैत्र, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । काठमाडौंमा भएको राजावादी आन्दोलनलाई लिएर एक हप्तापछि मानव अधिकार आयोगले मुख खोलेको छ । तर, आन्दोलनमा भएको प्रहरी दमनका विषयमा अझै पनि आयोगले कुनै प्रतिक्रिया दिएको छैन ।
काठमाडौंको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५ गते पूर्वराजा समर्थकद्वारा गरिएको प्रदर्शनका क्रममा भएको घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानमा आवश्यक सहयोग र समन्वय गर्न आयोगले सरोकार भएका सबैलाई आग्रह गरेको हो ।
आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएका भनिएका प्रदर्शन समितिका संयोजक नवराज सुवेदीलाई भेटेको उल्लेख गर्दै निजलाई बिना पूर्जी निजको घरमा प्रहरी निगरानीमा राखिएको आयोगले जनाएको छ । उक्त टोलीले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिए ।


