काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडाको छपेली क्षेत्रमा लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई ९४ हजार ८० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य, पूर्वी चम्पारण जिल्ला अन्तर्गत विभिन्न स्थानका चार जना रहेका छन्। पक्राउ पर्नेहरूमा २२ वर्षीय मोहम्मद उमर सिद्दिकी, २० वर्षीय समिर आलम, ३३ वर्षीय मोहम्मद मुन्ना अन्सारी र ४५ वर्षीया नोर्जान खातुन रहेका छन्।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको टोलीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स चेकजाँच गर्ने क्रममा लागूपदार्थ बरामद गरेको हो। उक्त एम्बुलेन्समा सवार समिर आलम, मुन्ना अन्सारी र नोर्जान खातुनलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो। फरार रहेका चालक मोहम्मद उमर सिद्दिकीलाई भने शनिबार बिहान सार्वजनिक सडकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
हाल प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

