२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

प्रहरीलाई ठूलो सफलता, रंगेहात २० जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषध कारोबार र ओसारपसारमा संलग्न २० जना पक्राउ परेका छन्। धरान, सिराहा, कैलाली, मोरङ र बाराका विभिन्न स्थानमा गरिएको प्रहरीले विशेष अपरेशनमा ठूलो परिमाणमा ट्रामाडोल, स्पास्मो, नाईट्राजेपाम, ब्राउनसुगर र गाँजा बरामद गरेको हो।

सुनसरी, धरान उपमहानगरपालिका-९ बगैंचा लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट सहित २० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत घर भएका ३० वर्षीय विजय साह, धरान उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय निरन्जन यादव, सोही उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय विशेष राई र सोही उपमहानगरपालिका-१७ बस्ने २६ वर्षीय निश्चल राई रहेका छन्। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ सुनुवार संघको भवन छेउबाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ६० ट्याब्लेट र स्पास्सपेन ४ सय ६९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध स्पास्मो १ सय २२ ट्याब्लेट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ५६ वर्षीय राजु क्षेत्री र सोही उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय सकुल अधिकारी रहेका छन्। अस्थायी प्रहरी बिट बरगाछीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-१९ ललिपुरघाटबाट नियन्त्रित लागूऔषध स्पास्मो ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलारी गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल चौधरी, १८ वर्षीय किशोर र १९ वर्षीय एन्जन चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

सिराहा, सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मिर्चौया नगरपालिका-८ बस्ने १९ वर्षीय सुशान्त पंजियार र सोही नगरपालिका-५ बस्ने २० वर्षीय बिजय महतो रहेका छन्। प्रहरी चौकी खिरौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको म प्र.०१-००५ प २०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सिरहा नगरपालिका-१४ लच्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २३ ग्राम ९५ मिलिग्राम सहित काठमाडौं महानगरपालिका-११ बस्ने २१ वर्षीय सुनिल बहादुर तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले ना.४ ख ४७१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी सिरहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३३ ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-९ बस्ने २१ वर्षीय पवन साह, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, उर्लाबारी नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६० ट्याब्लेट र स्पाष्मिड १ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुजन शिवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै थप सोधपुछको क्रममा उक्त लागूऔषध पथरी शनिश्चरे नगरपालिका-२ बस्ने २९ वर्षीय सुमन गुरूङबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात सुमनलाई सोही ठाउँबाट ट्रामाडोल १ हजार १६ ट्याब्लेट र स्पाष्मिड ९ सय ८० ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने ४२ वर्षीय सोम बहादुर मोक्तानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको ना.१ ह ८९६१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक मोक्तानलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस