काठमाडौं । तीनकुनेमा राजावादी समूहको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको घटनाको अनुसन्धान गर्दै प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ।
कुँवरको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो, जसमा उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट झर्दै गरेको देखिन्छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, घटनास्थल र समय मिल्दोजुल्दो देखिएकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले कुँवरमाथि अनधिकृत रुपमा अरुको घरमा प्रवेश गरेको आरोप पनि लगाएको छ। चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु र २० जनालाई गोली लागेपछि यो प्रकरण गम्भीर अनुसन्धानको दायरामा छ।
यस घटनासँग सम्बन्धित आरोपमा राप्रपा नेता रविन्द्र मिश्र, धवलशमशेर राणा लगायत हिरासतमा छन् भने दुर्गा प्रसाईं हालसम्म फरार छन्।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार

