काठमाडौं । कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कारागारबाटै चारवटा सन्देश पठाएका छन्। सोमबार रुपन्देही जिल्ला अदालतको आदेशपछि थुनामा रहेका लामिछानेले पार्टीका निकट नेतामार्फत् आफ्नो धारणा सार्वजनिक गराएका हुन्।
लामिछानेले अदालतको आदेशको सम्मान गर्ने जनाउँदै भनेका छन्, “कानुनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो अदालत जान्छु।”
उनले आफू न्यायप्रति आशावादी रहेको भन्दै भनेका छन्, “न्यायको मन्दिरबाट अन्याय नहोला भन्ने विश्वास छ। उठाइएका आशंका गलत ठहरिएरै जानेछन्।”
पार्टीलाई एकढिक्का बनाएर अभियानलाई जनतामाझ लैजान आग्रह गर्दै लामिछानेले नेताहरूलाई भनेका छन्, “सक्नुहुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्।”
आफूमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै उनले थपे, “यो पहिलो परीक्षा म दिँदैछु, तर अब अरूको पनि पालो आउनेछ।”

