२८ चैत्र , काठमाडौँ । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानल नै विजयी भएको छ । मतगणना हुन बाँकी ललितपुर जिल्ला बारको ५६० मत मात्र गन्न बाँकी रहेको छ ।
हालसम्मको मतगणना अनुसार कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक–प्रगतिशील गठबन्धनले सबै पदमा दोब्बर मतको अग्रता छ । बुधबारसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक प्रगतिशील गठबन्धनतर्फबाट अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले ४ हजार ८९२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायीको प्यानल व्यावसायिक कानुन व्यवसायी गठबन्धनका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले २ हजार २२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए ।
यस्तै महासचिव पदमा पनि लोकतान्त्रिक प्रगतिशील गठबन्धनका केदार कोइरालाले ४ हजार ७०४ मत प्राप्त गर्दा व्यावसायिक कानुन व्यवसायीको गठबन्धनका यज्ञमणि न्यौपानेले २ हजार २९ मत प्राप्त गरेका छन्।
सबै पदमा सत्ता पक्षीय नेकपा एमालेनिकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन्। देशभर योग्य मतदाता ९ हजार ९९६ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९९५ मत खसेको थियो। बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जनाबीच प्रतिस्पर्धा छ।

