२८ चैत्र , काठमाण्डौँ । रास्वपा सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि रास्वपाको आन्तरिक गति नै अन्योलग्रस्त बन्न पुगेको छ । महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित भएको छ । खासगरी कुनै तयारी नगरिएको र अब समयको चापले पनि महाधिवेशन नहुने भएको हो ।
त्यस्तै गत शनिबार चितवनमा निकै खल्लो र फितलो वातावरणमा सुरू गरिएको जनयात्रा पनि अब कसरी सञ्चालन गर्ने भन्नेमा रास्वपा दुविधामा छ । अब रास्वपाको एक मात्र ध्यान रविको थुना गैरकानुनी रहेको भन्दै रट लगाउने र अदालतको आदेशविरुद्ध प्रदर्शन गर्नेमा केन्द्रित हुने देखिएको छ ।
रवि कारागार चलान भएपछि पहिलोपल्ट बुधबार रास्वपा सचिवालय बैठक बसेको थियो । उक्त बैठकले पनि महाधिवेशन र जनयात्राबारे ठोस निर्णय गर्न सकेन । उसले फेरि पनि सचिवालय बैठक निरन्तर बस्ने र केन्द्रीय समितिको बैठक पनि बोलाउने भनेको छ । बैठक जति बसे पनि रविलाई कारागार चलान गर्ने अदालतको आदेश उसको मूल मुद्दा हुने देखिएको छ ।

