२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

म्यानमारका भूकम्प पीडितलाई नेपालको मलम, २७ टन राहत सामग्री लगिँदै

२८ चैत्र , काठमाडौँ । नेपाल सरकारले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयको टोली म्यानमार पुगेर भूकम्प प्रभावितहरूका लागि खाद्यान्न,औषधि,लत्ताकपडा, टेन्टलगायत २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को बैठकले म्यानमारमा भूकम्प पीडितहरूका लागि राहत सामाग्री पठाउने निर्णय गरेको थियो । नेपाल सरकार र निजी क्षेत्रको संयुक्त पहलमा संकलन भएका सामाग्री म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले जानकारी दिए ।

भूकम्पमा परेको म्यानमारका नागरिकलाई केहि सहयोग होस् भनेर सरकारले सहयोग उपलव्ध गराएको उनले बताए । उनले नेपाल सरकारले हस्तान्तरण गरेको सामाग्री म्यानमार सरकारले प्रभावितहरूलाई वितरण गर्ने जानकारी दिए।

त्यस्तै म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमारमा भूकम्प गएपछि नेपालमा खबर गरेर नेपाली सेनाको टोली आएर सेवा गरिरहेको जानकारी दिए । अहिलेसम्म नेपाली सेनाको टोलीले १३ सय भन्दा बढिको उपचार गरेको उनले जानकारी दिए। उनले डेड लाख नेपाली भाषी म्यानमारमा रहेको उल्लेख गरे ।

म्यानमारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्पका कारण तीन हजार ६ भन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । भूकम्पमा १८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने १०–१५ जना हराइरहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस