२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ठूला सहरमा मात्र छैन वेश्यावृत्ति : चार वर्षदेखि पालैपालो गर्ने २ महिला प्रमाणसहित समातिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको गम्भीर आरोपमा दुई जनालाई पक्राउ गरेको छ। जिप्रका बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवका अनुसार ढोरपाटन नगरपालिका–१, बुर्तिबाङमा अवस्थित खाजाघर र रेस्टुरेन्टका सञ्चालकले ललगाई-फकाई गरी १६ वर्षीया नाबालिकालाई विगत ४ वर्षदेखि यौन गतिविधिमा संलग्न गराएको पाइएको छ। उक्त घटना बुधबार प्रहरीले खोजतलास गरी उजागर गरेको हो।

पक्राउ पर्नेमा तमानखोला खाजाघरकी सञ्चालक तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरकी मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेका छन्। डिएसपी यादवले दिएको जानकारी अनुसार २०७७ फागुन १३ गतेदेखि २०८१ माघ २७ गतेसम्म नाबालिकालाई विभिन्न होटलमा पालैपालो राखी ग्राहकहरूसँग पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई अवैध धन आर्जन गरेको प्रमाण फेला परेको छ। प्रहरीले दुवै होटलको रीतपूर्वक तलासी गर्दा यौन व्यवसायमा प्रयोग हुने विभिन्न सामग्रीहरू बरामद गरेको छ।

डिएसपी यादवले पीडितको बयान, जाहेरी दरखास्त र बरामद प्रमाणका आधारमा बागलुङ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप लिई विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस