दुल्लू । दैलेखको डौँसुरमा जनप्रतिनिधि भन्दै एक व्यक्तिलाई बिजुलीको पोलमा बाँधिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा उनी आफू वडाध्यक्ष भएको बताउँछन्। २७ सेकेन्डको भिडिओ र अडिओमा एकजनाले युट्युबर स्टाइलमा प्रश्न सोधेको सुनिन्छ । यो अडिओ अहिले हरेक सामाजिक सञ्जालमा भइरल छ ।
तपाईं साँच्चिकै जनप्रतिनिधि हो ?
पोलमा बाँधिएका व्यक्ति भन्छन्—वडाध्यक्ष हुँ ।
ती व्यक्ति पुनः सोध्छन्—वडाध्यक्षको मतलब के हुन्छ ?
उनी जवाफ दिन्छन्—वडामा जाने साइन…..
प्रश्न सोधिहाल्छन्—जनतालाई प्रष्ट बताउनुहोस्, जनताबाट निर्वाचित भएर तपाईँ वडाध्यक्ष हुनु भएको हो ?
उनी जवाफ दिन्छन्—चुनावमा….
अनुसन्धान गर्दा ती व्यक्ति दुल्लु नगरपालिका–३ का वडाध्यक्ष कुलबहादुर कार्की भएको पुष्टि भएको छ। स्थानीयले रातिको समयमा वडाध्यक्ष जस्तो व्यक्ति कसैको श्रीमतीसँग लागेको र स्थानीयले छोपेर पोलमा बाँधेको भनेर प्रचार गरिएको छ । तर भिडिओसँग अडिओ भने अलि मिल्दैन । कार्कीले आफूलाई अपहरण गरेर बन्धक बनाइएको भन्दै चार जनाविरुद्ध जाहेरी दिएका छन्।
प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घटना पछाडिको वास्तविकता अनुसन्धानपछि मात्र खुल्नेछ। वडाध्यक्षले गल्ती गरेकै भएपनि कानून अनुसार कारबाही गर्नुपर्ने हो, गैर कानूनी कार्य गरेको भिडिओमा देखिन्छ । यसरी हेर्दा वडाध्यक्षपनि पीडित भए । अनुशन्धानपछि कानून हातमा लिनेलाई कारबाही हुन्छ प्रहरीले भनेको छ ।

