२९ चैत्र, बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न आज बुटवल जाँदै छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रधानमन्त्री बुटवल आउने कार्यक्रम रहेकाले सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको बताए ।
यसअघि रुपन्देहीमा पार्टीको जिल्ला अधिवेशन र अन्य कार्यक्रममा प्रधानमन्त्री आउने प्रचार गरिए पनि उनी आएका थिएनन् ।
देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवल मण्डपमा गर्न लागिएको छ ।
सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल आउने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए । सभापूर्व बुटवलबाट भैरहवासम्म मोटरसाइकल र गाडीसहितको र्याली निकालिने, त्यसपछि पूर्वमा मुटु अस्पताल, दक्षिणमा कालिकाचोक, उत्तर र पश्चिमबाट जम्मा भएको टोली अस्पताल लाइन जम्मा भएर रामनगरस्थित कार्यक्रम स्थलमा जाने गैरेले जानकारी दिए ।

