३० चैत्र, काठमाण्डौँ । सुतेकी ठाउँबाट हराइरहेकी दैलेखकी ३ महिने वालिकालाई प्रहरीले सकुशल उद्दार गरेको छ । गए रातिबाट हराइरहेकी दैलेख ठाटीकाँध गाउँपालिका-१, सिराडी ग्वालिपिन्नकी बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी हुन् । उनलाई लिएर भाग्ने क्रममा २० वर्षीय एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडाकी शर्मिला विष्ट रहेको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।
शिशुलाई लिएर भाग्दै गरेको अवस्थामा उनी नियन्त्रणमा लिएको अर्यालले जानकारी दिए।चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जंगलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए । यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन् । स्थानीयका अनुसार दुल्लुका तीन जना पुरुषले बच्चा ल्याएका हुन् । बमबहादुरको परिवार भने घर पछाडिको रूखमा आगलागी भएकाले निभाउन गएका बेला बच्ची हराएकी थिइन् । आगो निभाएपछि घर पुग्दा बच्चा गायव भएको परिवारले जनाएको छ । त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरेको र तत्काल प्रहरीले खोजतलास गर्दा फेला परेको थियो ।

