काठमाडौं । शनिबार राति देशका विभिन्न प्रदेशमा भिन्न–भिन्न मौसमको पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रहरूमा बादल लाग्ने र केही ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम आंशिक बदलीदेखि सफा रहनेछ।
कोशी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा पनि बदलीसहित मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ भने तराईमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान गरिएको छ।
मधेश प्रदेशमा राति मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कुनै उल्लेख्य वर्षा वा हिमपातको सम्भावना छैन।
बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ। पहाडी क्षेत्रमा पनि बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी र लुम्बिनी प्रदेशमा राति हिमाली क्षेत्रमा बादल लाग्ने र एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ। पहाडी क्षेत्रहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ भने तराईका अधिकांश भागमा मौसम सफा रहनेछ।
कर्णाली प्रदेशमा रातिको समयमा हिमाली तथा पहाडी दुवै क्षेत्रमा आंशिकदेखि साधारण बदली हुने देखिएको छ, तर ठूलो वर्षा वा हिमपातको उल्लेख छैन।
सुदूरपश्चिम प्रदेशमा पनि राति हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ भने तराईमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने मौसमविद्हरूले जनाएका छन्।
मौसम विभागले सम्भावित वर्षा, चट्याङ्ग र हिमपातलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

