काठमाडौं। काठमाडौंको बबरमहलस्थित सडकमा शनिबार बिहान डरलाग्दो सवारी दुर्घटना भएको छ। स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
काठमाडौं महानगरपालिका–११ अन्तर्गतको बबरमहल सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा स्कुटरमा सवार अन्दाजी ३० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार एक जना र स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन्। दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ। मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको केन्द्रीय समाचार ब्यूरोले जनाएको छ।
प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार

