२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

वैशाख २ गते बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

३१ चैत्र, काठमाण्डौँ । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।

नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए । उनका अनुसार जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ। सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताए ।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस